Section 7V
सूचक संस्थालाई कारबाही गर्न सक्ने
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दफा ७प. को उपदफा (२) बमोजिम दिएको आदेश वा निर्देशन वा जारी गरेको मापदण्ड पालना नगर्ने सूचक संस्थालाई नियमनकारी निकायले देहाय बमोजिमको कुनै वा सबै कारबाही तथा सजाय गर्न सक्नेछः– (क) लिखित रुपमा सचेत गराउने, (ख) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको निर्देशिका वा दिएको आदेश वा निर्देशनको उल्लङ्घन गरेमा सोको गाम्भीर्यका आधारमा क्यासिनो व्यवसायी तथा वित्तीय संस्थालाई दश लाखदेखि पाच करोड रुपैयासम्म र अन्य सूचक संस्थालाई एक लाखदेखि एक करोड रुपैयासम्म जरिवाना गर्ने, (ग) कारोबार, पेशा वा व्यवसाय गर्न आंशिक वा पूर्ण रुपमा रोक लगाउने, (घ) अनुमतिपत्र, इजाजतपत्र वा दर्ता निलम्बन गर्ने, वा (ङ) अनुमतिपत्र, इजाजतपत्र वा दर्ता खारेज गर्ने । (२) सूचक संस्थालाई यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिएको निर्देशन वा आदेशको उल्लङ्घनका सम्बन्धमा सजाय गर्न उपदफा (१) मा उल्लिखित सजाय पर्याप्त नहुने देखिएमा नियमनकारी निकायले प्रचलित कानून बमोजिमको उपयुक्त सजाय गर्न सक्नेछ । (३) नियमनकारी निकायले सूचक संस्थालाई उपदफा (१) वा (२) बमोजिम सजाय गर्दा त्यस्तो सजाय प्रभावकारी, अनुपातिक तथा निरोधात्मक हुने गरी गर्नु पर्नेछ । (४) नियमनकारी निकायले सूचक संस्थालाई यस दफा बमोजिम कारबाही वा सजाय गरेमा र त्यस्तो सजाय सूचक संस्थाको कुनै पदाधिकारी वा कर्मचारीको काम कारबाहीको कारणले भएको देखिएमा त्यस्तो पदाधिकारी वा कर्मचारीलाई सूचक संस्थाले प्रचलित कानून तथा त्यस्तो सूचक संस्थाको कानून बमोजिम आवश्यक कारबाही गर्नु पर्नेछ । (५) नियमनकारी निकायले यस दफा बमोजिम सूचक संस्थालाई कारबाही तथा सजाय गर्दा सम्बन्धित सूचक संस्थालाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ । (६) नियमनकारी निकायले यस दफा बमोजिम गरेको कारबाही वा सजायमा चित्त नबुझ्ने सूचक संस्थाले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालत समक्ष पुनरावेदन दिन सक्नेछ ।